काठमाडौं – बङ्गालको खाडीमा आएको ‘यास’ नाम दिएको चक्रवातले विगत तीन दिनदेखि नेपालको मौसममा पनि बदलि आएको छ । काठमाडौं उपत्यकता लगायत देशभरका अधिकांश स्थानमा यास चक्रपातको प्रभावले सामान्यदेखि भारी वर्षा भएको थियो । उपत्यका लगायत देशमा विभिन्न क्षेत्रमा हिजो दिउँसोबाट मौसममा क्रमिक सुधार आएको र आज आइतबार पनि केही स्थानमा आंशिकदेखि सामान्य हुने र कतिपय स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा यास चक्रवातको प्रभाव पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भएकोले न्यून चापीय क्षेत्रको प्रभाव अहिले पनि रहेको छ । आज पनि देशका अधिकांश स्थानहरुमा सामान्य बदली भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । प्रदेश १ को तराई भू–भागमा र प्रदेश २ को केही ठाउँमा हल्का वर्षा भएको छ ।

पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशभार मौसममा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानहरुमा हावाहुरी आउने, मेघगर्जने र मध्यम खालको वर्षा पनि हुने सम्भावना रहेको छ । त्यसैगरी राति प्रदेश नं. १, २ र बागमती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने सम्भावना रहेको छ ।