काठमाडौं – नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्ने विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको जीवन रक्षाका लागि मानिसहरुले स्वःस्फूर्तरुपमा चन्दा सङ्कलन गर्न थालेका छन् । हाम्रो देशमा नेतागिरी आफैमा यस्तो अलोकप्रिय ‘पेशा’ हो, जसले सधै गालीमात्र खान्छ । नेताले यस्तो बेला प्रशंसक कमाउँछ जतिबेला ऊ शक्तिमा पुग्छ, आफ्ना मतदातालाई राज्यकोषबाट अनेक शीर्षकमा लाभ दिन सुरु गर्छ । तर, कहिल्यै लाभको पदमा नपुगेको, कहिल्यै चुनाव नजितेको र धेरै कार्यकर्ता पनि नभएको सानो दलको एउटा नेताप्रति मानिसहरुको अनौठो सदभाव देखिँदै छ ।
कोरोना सङ्क्रमणका कारण मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा उपचाररत थापाको स्वास्थ्य अवस्था गम्भीर छ । उनको उपचारमा सहयोग पु¥याउन परिवार र विवेकशीलका कार्यकर्ताले चन्दा सङ्कलन अभियान सुरु गरेको लगभग २४ घण्टा बित्दैछ । विवेकशील साझाका संयोजक मिलन पाण्डेका अनुसार अहिलेसम्म गोफण्ड नामक अनलाइन प्लेटर्फममार्फत् झण्डै २३ हजार डलर (२४ लाख रुपैयाँ) र बैंक खातामा २६ लाख ५० हजार गरी झण्डै ५० लाख रुपैयाँ रकम सङ्कलन भएको छ । अनलाइन प्लेटर्फम गो फण्डमा २४ घण्टाको अबधिमा हरेक घण्टा १ हजार डलर रकम सङ्कलन भइरहेको छ, जहाँ विदेशमा बसोबास गर्ने नेपालीहरुले ५ देखि ५ सय डलरसम्म सहयोग गरिरहेका छन् । अहिलेसम्म ४ सय ५० जनाभन्दा बढीले अनलाइनमार्फत् डोनेसन दिएका छन् ।
संयोजक पाण्डेका अनुसार थापाको एक्स्ट्राकोर्पोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको छ । यही प्रविधिबाट उपचारका लागि ग्राण्डी अस्पतालबाट मेडीसिटीमा ल्याइएको हो । थापाको उपचारमा दिनको ४÷५ लाख रुपैयाँ लाग्ने भएपछि सहयोग सङ्कलन सुरु गरिएको थियो । पाण्डेले भने, ‘आज साँझ चिकित्सकहरुले उहाँको स्वास्थ्य अवस्थाबारे बताउनुहुन्छ, त्यसपछि थप निर्णय होला ।’ थापाको उपचारका लागि चन्दा सङ्कलन सुरु भएपछि झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने घोषणा गरेका थिए । तर, थापाको परिवार र शुभेच्छुकहरूले सद्भावका लागि धन्यवाद भन्दै प्रसाईले दिने भनेको सहयोग आवश्यक नपर्ने बताएको छ । हाल उज्ज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ’ उनीहरुले प्रेस नोटमार्फत भनेका छन् ।