काठमाडौं – नेकपा एमाले नेता घनश्याम भुसालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दा आफूले संसदीय मर्यादा उल्लङ्घन गरेको कुरा स्वीकार गर्नु भएको छ । संविधान र राजनीतिका लागि आफूले उल्लङ्घनको विकल्प रोजेको उहाँको स्पष्टीकरण छ । देउवाको पक्षमा हस्ताक्षर गरेको विषयलाई लिएर भइरहेको टिप्पणीबारे सामाजिक सञ्जालमा आफ्नो स्पष्टीकरण दिनु भएका भुसालले ‘एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्घनको विकल्प रोज्नुपर्ने ठाउँमा पुगें ।’
उहाँले भन्नु भएको छ, मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौं नेपालीको रगत–पसिना बगेको छ ।’ गत वर्ष ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेश, नेपाल कम्युनिस्ट पार्टीको एकता भङ्ग, संसद विघटन र मध्यावधि चुनावको घोषणा संविधान असफल बनाउने षडयन्त्रअन्तर्गत भइरहेको उहाँको निष्कर्ष छ । भुसालले नयाँ खिलराजको उदय गराउने र ‘नयाँ’ संविधानको कोर्सतिर मुलुकलाई लैजाने प्रयास भइरहेको समेत सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ ।