काठमाडौं – सरकारले स्वास्थ्य सेवाको सूचकमा उल्लेखनीय सुधार भएको जनाएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७/७८ मा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार हुँदै गएको जनाइएको हो । आर्थिक सर्वेक्षणमा दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने र स्वास्थ्य संस्थामा गई प्रसूति गराउने गर्भवतीको सङ्ख्या बढ्दै गएको जनाइएको छ । वि.सं २०७७ फागुनसम्ममा दक्ष प्रसूतिबाट प्रसूति गराउने महिला ७९ दशमलव ३ र स्वास्थ्य सेवामा गई प्रसूति गराउने ७७ दशमलव ७ प्रतिशत छन् । यसैगरी नवजात शिशु मृत्युदर, शिशु मृत्युदर, पूर्णरुपमा सबै प्रकारका खोप लगाउने बालबालिकाको प्रतिशतलगायतका अन्य स्वास्थ्य सूचाङ्कमा सुधार भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
पाँच वर्षमुनिको बालमृत्युदर एक हजारमा २८, नवजात शिशुमृत्युदर एक हजारमा (२८ दिनभित्र) १६, शिशुमृत्युदर प्रतिएक हजारमा (एक वर्षभित्र)मा २५ जना रहेको उल्लेख गरिएको छ । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ५४ कोभिड अस्पताल, १ सय २५ कोभिड क्लिनिक र ८४ पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । यस्तै २०७७ साल फागुन मसान्तभित्रमा २२ हजार १ सय २७ क्वारेन्टिन शैया, १३ हजार ७ सय ७२ आइसोलेशन शैया, १ हजार १ सय ५४ सघन उपचार कक्ष (आइसियु), ४ सय ७५ भेन्टिलेटर र ६ सय ७६ हाई डिपेन्डेन्सी युनिट (एचडियु) निर्माण गरेको जनाएको छ ।
यसगैरी २०७७ फागुनसम्ममा ७ हजार २ सय २१ स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । १ सय २५ अस्पताल, २ सय ५ प्राथमिक स्वास्थ्य केन्द्र, ३ हजार ८ सय ७० स्वास्थ्य चौकी, ३९५ आयुर्वेदिक अस्पताल र २ हजार ६ सय २६ उपस्वास्थ्य चौकी रहेका छन् । वि.सं २०७६ फागुनसम्म ७ हजार १ सय ५४ रहेका थिए । यस्तै सबै स्थानीय तहका हरेक वडामा एक स्वास्थ्य संस्था राख्ने योजना अनुसार २०७७ फागुनसम्म २ हजार ६ सय २६ पुगेको छ । सरकारले आव २०७६/७७ मा सरकारी, निजी र सामुदायिक स्वास्थ्य संस्थाबाट बहिरङ्ग सेवा ८८ दशमलव ७, अन्तरङ्ग सेवा ४ दशमलव १ र आकस्मिक सेवा ७ दशमलव २ प्रतिशत बिरामीले लिएका छन् ।
आर्थिक सर्वेक्षणमा नेपालमा औलो रोग क्रमशः नियन्त्रण हुँदै गएको बताइएको छ । आव २०७६/७७ मा दुई लाख ५२ हजार १ सय ५५ व्यक्तिको नमूना परीक्षण गर्दा ६ सय १९ मा औलो रोग देखापरेकामा आव २०७५/७६ मा एक लाख ९९ हजार ९ सय २७ मा परीक्षण गर्दा एक हजार ६५ जनामा औलो देखिएको थियो । यस्तै चालु आवमा २०७७/७८ मा स्वास्थ्य क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको पाइएको छ । चालु आवमा मूल्य अभिवृद्धि ६ दशमलव ५३ प्रतिशत पुग्ने अनुमान गरिएको छ । अघिल्ला आवमा ५ दशमलव २ प्रतिशत रहेको थियो । यसैगरी आर्थिक सर्वेक्षणमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरिएको छ । गत साल फागुन महिनासम्म ६९ जिल्लाका १ सय १० स्थानीय तहका ६सय ७३ वडामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमबाट सात लाख ४२ हजार १ सय ९२ घरपरिवारका ३७ लाख १० हजार ९ सय ६२ सदस्य बीमित भएका छन् । यस्तै ७० अत्यावश्यक औषधि निःशुल्क वितरण गरिएको छ । राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत २५ शैयाबाट ७० औषधि, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य एकाइबाट ३८ अत्यावश्यक औषधि निःशुल्क वितरण हुँदै आइरहेको छ । सरकारले २०७७ फागुनसम्ममा ३९ हजार २ सय ७९ बिरामीलाई क्यान्सर, मुटु र मिर्गौला रोगका बिरामीको निःशुल्क औषधि उपचार गरेको छ । –रासस