मोरङ – निषेधाज्ञाको अवज्ञा गर्दै विराटनगरमा होटल तथा मदिरा पसल सञ्चालन गर्ने ९ जनालाई जिल्ला प्रशासन कार्यालय मोरङले कारबाही गरेको छ । मोरङ जिल्ला प्रमुख कोशहरि निरौलाले कोरोना सङ्क्रमणका क्रममा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गरेका होटल तथा मदिरा पसलका सञ्चालकलाई पहिलोपटक जरिवाना गराइएको जानकारी दिएका छन् । महामारीका क्रममा भीडभाडसाथ ग्राहकलाई मदिरा बिक्री–विरतण गरेका प्रत्येक ९ जना सञ्चालकबाट २५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।
   कार्यालयका नायब सुब्बा रमेशकुमार निरौलाका अनुसार प्रशासनले कारबाहीका क्रममा प्रत्येकबाट २५ हजार रुपैयाँ जरिवाना असुल गरेको हो । उनका अनुसार विराटनगर महानगरपालिका–४ का देवानन्द थन्दार, सालो गिरि, विराटनगर–९ का गौतम वर्णमाल, गोपाल भट्टराई, विराटनगर–१५ की मीनु तामाङ, विराटनगर–१६ का ओमनाथ चौधरी, सञ्जय यादव, बहादुर यादव र विराटनगर–१७ का कृष्ण भुजेलले जरिवाना बापतको रकम तिरेका हुन् । प्रशासनले बिहीबार गरेको जरिवानाको फैसलाअनुसार रकम तिर्न नसकेका बहादुर यादव पुर्पक्षका लागि कारागार चलान भएका थिए । तर, शुक्रबार जरिवाना तिरेर उनी पनि कारागारमुक्त भएका छन् ।
    प्रजिअ निरौलाका अनुसार आठ जना फैसलाअनुसार जरिवाना वापतको रकम तिरेर बिहीबार नै छुटेका थिए । मोरङ प्रहरीले उनीहरूलाई बुधबार राति पक्राउ गरेर बिहीबार प्रशासन कार्यालयमा उपस्थित गराएको थियो । त्यसैगरी, होटलमा बसेर मदिरा सेवन गरिरहेको ७ जनालाई भने एक हजार रुपैयाँ जरिवाना तिराइएको उनले बताए । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाका क्रममा होटल तथा मदिरा पसल सञ्चालन गर्न बन्देज लगाएको छ । होटलमा भीड गरि बसेर खानपानमा रोक लगाएको प्रशासनले टेक अवे का रुपमा ग्राहकले खाना लैजान पाउने जनाउँदै आएको छ । प्रजिअ निरौलाले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गरिएको बताए । यस क्रममा उल्लंघन गर्ने व्यक्तिलाई अधिकतम १ लाख र संस्थालाई अधिकतम ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीमा रहेको छ ।