काठमाडौ– यात्रुहरुको समस्यालाई सम्बोधन गर्नभन्दै सरकारले आगामी जेठ १८ गतेदेखि तीनवटा देशमा हवाइ उडान गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार हप्ताको एक दिनमात्र चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी गराएका हुन् ।
मन्त्री ढकालले अत्यावश्यक भएका यात्रुको समस्या सम्बोधनका लागि उडान सुरु गर्नमात्र ति उडान गर्न लागिएको बताएका छन् । उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्नका लागि पनि सातामा एक उडानको अनुमति दिने निर्णय भएको मन्त्री ढकालले बताए ।
मन्त्री ढकाल भन्छन् – ‘फ्लाइटहरु बन्द भएका कारणले विभिन्न खालका कुटनीतिक प्रयासहरूबाट जाने र अरु अनुरोधहरुबाट कतिपय फ्लाइटहरु जाने हुँदा त्यसमा पनि अनियमितता हुने भएको हुनाले बरु थोरै देशबाट भएपनि नियमित खालका उडानहरूलाई गरियो भने कम्तिमा त्यसमा अनियमितताहरू नहुने कुरा, व्यक्तिहरुका बीचमा अलि खुल्ला हुने कुरा र हप्तामा एकचोटी जान्छ भनेपछि आफ्नो सेड्युल बनाएर मान्छे जानसक्छ भनेर हिजोको मन्त्रिपरिषद् बैठकबाट हामीले चीन, कतार र टर्कीको निम्ति हप्तामा एकचोटी नियमित फ्लाइट गर्ने भन्ने कुरालाई संस्थागत रुपमा निर्णय गरेका छौं ।’
मन्त्री ढकालका अनुसार, ती मुलुकबाट नेपाल आउने यात्रुले कोभिड – १९ सङ्क्रमण विरुद्धका दुवै मात्रा खोप लगाएको भए होम क्वारेन्टिननमा बस्नुपर्ने, एक मात्रा मात्रै खोप लगाएको व्यक्ति होटलमा ३ दिन क्वारेन्टीनमा बस्नुपर्ने, ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रु १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने छ । सङ्कटमा परेका व्यक्तिहरु शोषणमा नपरून् भन्ने उद्देश्यका साथ यो निर्णय गर्नुपरेको हो ।
नेपालमा कोभिड–१९ को दोस्रो लहरको महामारीसँग आन्तरिक र बाह्य हवाइसेवा उडानमा रोक लगाएको थियो । आन्तरिक हवाइसेवा भने पूर्णरुपमा बन्द छ ।