काठमाडौं — प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ गर्दै आज संवैधानिक इजलासमा भएको बहस सकिएको छ । विघटित संसद्को प्रमुखप्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालगायतको रिटको पालो आएपछि आजको बहस सकिएको र बाँकी मुद्दामा १६ गते आइतबारबाट बहस सुरु हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते शनिबार प्रतिनिधिसभा दोस्रोपटक विघटन गर्नुभएको थियो । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको कार्य असंवैधानिक भएको जिकिर गर्दै १ सय ४६ सांसदहरु संयुक्त हस्ताक्षर गरी दायर गरेको रिट सहित ३० वटा रिट निवेदन परेका छन् । ती निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ सुरु भएको हो ।
कानुन व्यवसायीहरुले आइतबार प्रतिनिधिसभा विघटन विरुद्ध दर्ता गरेका रिटमाथि हिजो प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा सुनुवाइ भएको थियो । हिजोको सुनुवाइ सकिए पछि प्रधानन्यायाधीश जबराले सबै रिटहरु संवैधानिक इजलासमा लैजान आदेश दिनुभएको थियो ।
आज संवैधानिक इजलासले सुनुवाइका क्रममा पहिलो दिन रिट निवेदकको बहस सुनेको थियो । निवेदकमध्येका सन्तोष भण्डारीले पहिलो बहस गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्ति पाएर धारा ७६ को उपधारा ४ अनुसार विश्वासको मत लिनुपर्ने जिकिर प्रस्तुत गर्नुभएको थियो ।