ललितपुर– ललितपुरको लामाटारस्थित शुभतारा स्कूल पूर्ण रुपमा बन्द हुने भएको छ । आर्थिक सङ्कटको कारण देखाउँदै विद्यालय बन्द गर्न लागिएको हो । विद्यालयले विहीबार राति अभिभावकहरुलाई इमेल गरेर विद्यालय पूर्ण रुपमा बन्द हुने औपचारिक जानकारी गराएको छ । गत सोमबार विद्यालयकी संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले विद्यालय बन्द हुने अनौपचारिक रुपमा जानकारी गराउनु भएको थियो । उक्त जानकारी पश्चात् अभिभावक सहितको भर्चुअल बैठकमा अभिभावकले सकेको सहयोग गर्न तयार रहेको तर विद्यालय बन्द नगर्न अनुरोध गरेका थिए । संस्थापक निर्देशक रानीले उक्त बैठकपछि समय माग्ने भएको थियो । त्यसपश्चात अभिभावक एवं शिक्षकसहित बसेको बैठकमा पनि शिक्षक एवं अभिभावक सबैले सक्दो सहयोग गर्ने र विद्यालय बन्द नगर्न अनुरोध गरेका थिए ।
अभिभावक र शिक्षकसहित बसेको बैठकपछि राति विद्यालय बन्द गर्ने औपचारिक इमेल आएको अभिभावकहरुले बताएका छन् । कतिपय अभिभावकले शुल्क नतिरेको र त्यही कारण आर्थिक सङ्कट परेको कारण देखाएता पनि संस्थापनको जसरी पनि विद्यालय बन्द गर्ने मनसायको कारण बन्द हुन लागेको अभिभावकहरुको दाबी छ । अभिभावकहरुले भने १२ महिनाको बस र खाजाको बाहेक सबै शुल्क तिरेकोे दाबी गरेका छन् । साथै थपिएको शैक्षिक सत्र वैशाख र जेठको भने निषेधाज्ञाका कारण तिर्न बाँकी रहेको बताएका छन् । त्यो शुल्क तिरेर विद्यालयलाई सहयोग गर्ने र विद्यालय बन्द नगर्न अनुरोध गर्दा पनि संस्थापन पक्षले नसुनेको अभिभावहरुको गुनासो छ । ‘हामी बाँकी रहेको शुल्क पनि तिर्छौं । विद्यालयलाई सङ्कट परेको भए हामी अभिभावक, शिक्षक सहयोग गर्न तयार छौं ।
विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य जोखिममा नपारौं भनेर अनुरोध गरिरहेका छौं,’ अभिभावकहरुले भने, ‘तर संस्थापन एकोहोरो विद्यालय बन्द गराउने पक्षमा देखिन्छ ।’‘विद्यालय बन्द हुँदा शिक्षक, विद्यार्थी, अभिभावक सबै मारमा पर्छौं । तर आर्थिक संकटले चलाउनै नसक्ने अवस्थामा पुगेको संस्थापनले भन्छ भने त के गर्न सकिन्छ र ।’ विद्यालयको यो निर्णयले अभिभावक तथा विद्यार्थी अन्यायमा परेको बताउँछन् । विद्यालयले अभिभावकलाई इमाडोलमा रहेको न्यू मिलिनियम विद्यालयमा पढाउन सकिने विकल्प दिएको छ । उक्त विद्यालयसँग मर्ज गर्ने सम्झौता भएको पत्रमा उल्लेख गरेर पठाएको छ ।
आर्थिक सङ्कटका कारण विद्यालय सञ्चालन गर्नै नसक्ने अवस्था पुगेपछि संस्थापनले विद्यालय बन्द गराउने निर्णयमा पुगेको विद्यालयका सहायक प्रधानाध्यापक प्रवेश खनालले जानकारी दिनुभयो । विद्यालय बन्द गर्दा अभिभावक तथा विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोलाई मध्यनजर गरेर न्यू मिलिनियम विद्यालयसँग मर्ज गर्ने सम्झौता भएको खनालले बताए । नेपालका सुविधा सम्पन्न विद्यालयहरुमध्ये एक मानिने शुभतारा स्कुलमा अहिले एक कक्षादेखि १० कक्षासम्मका जम्मा ३ सय ६५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।