काठमाडौंका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा संक्रमण पुष्टि भएको हो । उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा जेठ १० गते पुष्टि भएको विभागका सूचना अधिकारी डा चन्द्र ढकालले जानकारी दिनुभयो  ।
उहाँका अनुसार उक्त स्थानमा सङ्क्रमण फैलिन नदिन तथा तत्काल नियन्त्रणमा लिन विभागले सङ्घ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएका क्षेत्रमा रहेका घरपालुवा पक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत बुधबार नै नष्ट गरेको छ । उक्त क्षेत्रबाट ५ सय ३५ टर्की, ४ सय ९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० हाँस, १ सय ७८ अण्डा र ९ सय किलो दाना नष्ट गरिएको थियो । पशुपक्षी मन्त्रालयले पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न आग्रह गरेको छ ।