काठमाडौं – भारतको बङ्गालको खाडीमा विकसित ‘यास चक्रवात’ ले भारतलाई मात्र नेपालको मौसममा समेत बदली आएको छ । अस्ति बुधबारदेखि मौसममा आएको परिवर्तनले देशका सबै क्षेत्रमा सामान्यदेखि भारी वर्षा भएको छ भने हिमालीक्षेत्रमा बाक्लो हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा यास चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । त्यसैले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । यो अवस्थासँगै धेरै स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको नियमित बुलेटिन अनुसार आज शुक्रबार दिउँसो र राति प्रदेश नं. १, प्रदेश नं. २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भिषण वर्षा हुनुको साथै उच्च वेगको हुरीबतास आउन सक्ने सम्भावना छ । यसैगरी उच्च हिमाली तथा पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि भारी हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि शनिबार र आइतबार पनि प्रदेश प्रदेश नं. १, प्रदेश नं. २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने छ । काठमाडौं उपत्यकामा पनि निरन्तर पानी परिरहेको छ ।

महाशाखाले ‘यास चक्रवात’ को प्रभावका कारण मौसममा आएको परिवर्तनले उच्च हिमाली क्षेत्रमा अत्यधिक हिमपात हुन सक्ने भन्दै हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन र नदीको बहाव बढ्न जाने, बाढी र पहिरो पनि जानसक्ने हुँदा तटीय क्षेत्रमा विशेष सजगता अपनाउन आग्रह गरेको छ ।