काठमाडौं – कोभिड–१९ को विश्वव्यापी महामारीबाट थला परेको होटल उद्योग पुनः सञ्चालनमा आउन नपाउँदै नयाँ कोरोना भेरियन्टको कारण अस्तव्यस्त हुन पुगेको भन्दै व्यवसायीले बजेटबाट विशेष सम्बोधन हुनुपर्ने माग गरेका हुन् । कोरोना भाइरसको महामारीका कारण थलिएको पर्यटन क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न वृहत पर्यटन पुनरुत्थान योजना ल्याउन होटेल व्यवसायीले माग गरेका छन् । मानवीय गतिविधि र विश्वसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो व्यवसाय अति संवेदनशील भएकोले होटल तथा पर्यटन उद्योगको तुलना अन्य क्षेत्रसँग नहुने हानकी अध्यक्ष सृजना राणाले उल्लेख गरेकी छिन् । होटेल व्यवसायको सम्बन्ध बहुआयामिक हुने र सामाजिक, आर्थिक लगायतका क्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले राज्यले सोही अनुसार संरक्षण गर्नुपर्ने व्यवसायीको माग छ ।
होटेल उद्योगका लागि आर्थिक बर्ष २०७८⁄७९ को बजेट मार्फत कोभिड विशेषः पर्यटन पुनर्उत्थान कोष र पर्यटन सहजीकरण कोष समेत स्थापनाको माग हानले गरेको छ । कोरोना महामारीको सङ्कट समाप्त हुने बित्तिकै तुरुन्त होटल तथा पर्यटन पूर्ववत् अवस्थामा र्फकन सक्ने अवस्था नभएको भन्दै बजेटको पहिलो प्राथमिकता अति प्रभावित उद्योगको रुपमा यसको संरक्षण र सम्बर्द्धनमा केन्द्रित हुनुपर्ने माग व्यवसायीको छ । सङ्कटको समयमा राज्यको उपस्थिति महत्वपूर्ण हुने भन्दै व्यवसायिक लगानीको संरक्षणका लागि अति प्रभावित होटल उद्योगको पुनरुत्थान गर्न व्यवसाय संरक्षण कोष र यसमा आश्रति कर्मचारी, श्रमिकहरुको लागि रोजगार संरक्षण कोषको लागि व्यवस्था गर्न समेत होटेल व्यवसायीले माग गरेका छन् ।
होटलको पुनरुत्थानका लागि ३ वर्षको लागि विशेष कर सहुलियतको व्यवस्था गर्दै होटल पूर्ववत लयमा नआउन्जेलसम्म वर्तमान मूल्यअभिवृद्धि करमा ५० प्रतिशत छुटको व्यवस्था, होटलहरुले आयकरमा पाउँदै आएको २० प्रतिशत छुटलाई ५० प्रतिशत कायम गर्न र जरिवाना तथा हर्जाना पूर्ण मिनाहाको माग समेत व्यवसायीले गरेका छन् । होटल क्षेत्रमा सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकारबाट लिइने विभिन्न शीर्षकका प्रत्यक्ष करहरु आगामी ३ वर्षको लागि मिनाहा गर्न माग गरिएको छ । सरकारको नीति अनुसार साँवा व्याज तिर्न समय २ वर्षको लागि बढाएकोमा क्षणिक राहत भएको तर आम्दानी शुन्य भएको बेला दुई वर्षपछि एक मुष्ट रुपमा तिर्नुपर्ने साँवा व्याज लामो अवधिसम्म किस्ताबन्दीमा तिर्ने व्यव्स्था मिलाउन समेत व्यवसायीले माग गरेका छन् ।
व्यवसायीले कोरोना महामारीका कारण व्यवसायिक अस्तित्व अत्यन्तै जोखिममा पुगेको गुनासो गरेका छन् । यो अवस्थामा होटल व्यवसाय टिकाउन सकिन्छ कि सकिँदैन भन्ने अन्यौलका बीच व्यवसायी रहेका भन्दै यसबाट लाखौ आश्रति कर्मचारी र मजदुरहरुको रोजगारी समस्यामा परेको समेत राणले बताएकी छिन् ।विगत १५ महिनाभन्दा बढीको व्यवसायिक शून्यताका कारण कतिपय व्यवसायी पलायन समेत भइसकेको हानको भनाइ छ । होटल तथा पर्यटन जस्तो बहुगुणी व्यवसाय प्रति आकार्षण घट्दा दीर्घकालीन रुपमा लगानी पलायन हुनेतर्फ समेत हानले सचेत गराएको छ । व्यवसायीले कामदार तथा कर्मचारीहरुको जीवन निर्वाहका लागि ट्रेड युनियनहरुसँग भएको समझदारीअनुसार विभिन्न स्तरका होटलहरुले तोकिएको रकम उपलब्ध गराउँदै आएको जानकारी गराएका छन् ।
यसबाट कामदार तथा कर्मचारीहरुलाई केही हदसम्म राहत पुगेको भए तापनि कर्मचारी तथा श्रमिकहरुको आवश्यकता पूर्ति गर्न यो समयमा नागरिक लगानी कोषमा जम्मा गरेको रकम मध्ये केही रकम विना व्याज र पछि फिर्ता नगर्ने गरीे झिक्न पाउने व्यवस्था गरी सहजीकरण गर्न व्यवसायीले माग गरेका छन् । सामाजिक सुरक्षा कोषमा सूचीकृत भई नियमित योगदान गर्न नसकिरहेका होटलका कर्मचारी तथा श्रमिकहरुको लागि स्वास्थ सुविधा यथावत उपलब्ध गराउन र सामाजिक सुरक्षा कोषमा गत बर्षझैं नेपाल सरकारको तर्फबाट योगदान गरी आर्थिक सहयोग प्रदान गर्न माग गरिएको छ ।