काठमाडौं – सभामुख अग्नि सापकोटाले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै देश र जनतालाई केन्द्रविन्दुमा राखेर असाधारण निर्णय लिनसक्ने बताउनु भएको छ । प्रतिनिधिसभा विघटन भएको सन्दर्भमा बिहीबार कानुनविदहरुसँग परामर्शपछि सभामुख सापकोटाले संविधान, देश र जनताको रक्षार्थ असाधारण निर्णय लिनसक्ने बताउनु भएको हो । उहाँले संसदको अवमूल्याङ्कन स्वीकार्य नहुने पनि बताउनुभयो ।
   ‘आवश्यक पर्दा देश जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि नेपाली जनताले प्रदान गरेको अधिकारलाई प्रयोग गर्नुपर्छ’ सभामुख सापकोटाले भन्नुभयो– ‘त्यो भनेको धेरै असाधारण र त्यो गर्नलाई घण्टा–घण्टाका सबै कुरालाई विचार गरेर, मनन गरेर अगाडि बढ्नुपर्छ ।’ सभामुख सापकोटाले घण्टा घण्टाका सबै परिस्थितिलाई मूल्याङ्कन गरेर अघि बढ्ने प्रयासमा रहेको भन्दै केन्द्रमा देश र जनताको हित राखेर संविधानको मर्म र भावनाअनुसार कदम चाल्ने बताउनु भएको छ । त्यसक्रममा उहाँले पार्टीहरूसँग पनि परामर्श गर्ने बताउनुभयो । ‘म पार्टीहरूसँग छलफल गर्छु, उनीहरू लोकतन्त्रका संवाहक हुन’ सापकोटाको भनाइ छ ।