काठमाडौं – नेपाल पत्रकार महासङ्घले द्वन्द्वकालीन समयमा पत्रकारहरुको हत्यामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । दिवंगत पत्रकार कृष्णसेन इच्छुकको १९औं स्मृति दिवसका अवसरमा महासङ्घ परिसरमा आज बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकार हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् । उनले नेपालमा द्वन्द्वकालदेखि हालसम्म राज्यपक्ष र गैर राज्य पक्षबाट तीनदर्जन भन्दा धेरै पत्रकारहरु मारिएको भन्दै ती घटनाका दोषीहरु अहिले पनि खुलेआम हिडडुल गरेर कानुनी राजलाई चुनौति दिएको बताएका छन् ।
उनले द्धन्दकालिन समयमा र कोभिड १९ महामारीमा ज्यान गुमाएका पत्रकारका परिवारको उचित व्यवस्थापन गर्न समेत माग गरेका छन् । महासङ्घका महासचिव रोशन पुरीले कृष्णसेन इच्छुक लगायत पत्रकारहरुको हत्यामा संलग्नहरुलाई कानुनी दायरमा ल्याउन माग गरेका छन् । उनले महामारीमा फ्रन्टलाईनमा बसेर भूमिका निर्वाह गर्ने क्रममा १६ जना पत्रकारले ज्यान गुमाउनुपरेको भन्दै उनीहरुका परिवारको उचित व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्ने बताएका हुन् ।
महासङ्घका पदाधिकारी लगायत पत्रकारहरुले महासङ्घ परिसरमा रहेको पत्रकार शहिद स्तम्भमा कोणसभा गरि पत्रकार सेनको तस्विरमा पुष्पगुच्छा अर्पण गर्दै सम्पूर्ण दिवंगत पत्रकारको चिर शान्तिको कामना गरेका थिए । महासङ्घका अनुसार, द्वन्द्वकाल देखि हालसम्म ३८ जना पत्रकारको हत्या गरिएको छ भने ४ जना पत्रकारको अवस्था अज्ञात छ । पछिल्लो कोभिड महामारीमा परी अहिले सम्म १६ जना पत्रकारले ज्यान गुमाएका छन् ।