काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन गर्न दुई विकल्प अघि सार्नु भएको छ । कोरोना महामारी र मध्यावधि निर्वाचनका कारण भदौका लागि तय भएको महाधिवेशन अनिश्चित देखिएपछि पौडेलले विकल्प अघि सार्नुभएको हो । पार्टीको वैधानिकता जोगाउन भदौसम्म जसरी पनि महाधिवेशन गर्नुपर्ने भन्दै वरिष्ठ नेता पौडेलले अहिले टुङ्गो लागेका क्रियाशील सदस्यबाटै महाधिवेशन गर्ने वा १३ औं महाधिवेशनका क्रियाशील सदस्यबाट एक वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रस्ताव अघि सार्नुभयो ।
काङ्ग्रेसले झण्डै ८ लाख क्रियाशील सदस्यको विवरण आफ्नो डेटा सिष्टममा इन्ट्री गरिसकेको छ । तर कतिपय जिल्लामा समायोजन विवादका कारण क्रियाशील सदस्यता टुङ्गो लागेको छैन । सबै क्रियाशील सदस्यको विवरण डेटा सिस्टममा आएपछि उजुरी आह्वान गरेर छानविन गर्नुपर्छ । यो सबै प्रक्रिया पूरा गरेर भदौ ७–१० मा महाधिवेशन गर्न निकै चुनौतीपूर्ण बनेको छ । नेपाल प्रेस युनियनको ३० औं वार्षिक उत्सवको अवसरमा आज बिहीबार आयोजित भर्चुअल कार्यक्रममा नेता पौडेलले भन्नुभयो, ‘क्रियाशील सदस्यता सबैतिरबाट कम्प्लिट गरेर १४ औं महाधिवेशन गर्न सम्भव छैन । जति उपलब्ध छन्, तिनीहरुबाटै वडा गाउँपालिका, क्षेत्रबाट प्रतिनिधि छनोट गरौं ।’
वरिष्ठ नेता पौडेलले दोस्रो विकल्पको रुपमा १३ औं महाधिवेशनकै प्रतिनिधिका आधारमा महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको छ । ‘पूरा कार्यकालको केन्द्रीय समितिको निर्वाचन गर्न नसके पनि एक वर्षको लागि भए पनि चुनाव गर्न सक्ने विकल्प छ । त्यो बारेमा पार्टीमा छलफल गर्नुपर्छ’ उहाँले बताउनुभयो । कार्यक्रममा पौडेलपछि बोल्नुभएका सभापति शेरबहादुर देउवाले भने यस विषयमा छलफल गर्न सकिने बताउनु भएको छ । ‘सबैलाई भन्नुस् न मलाई के भन्नुहुन्छ ?’ उहाँले भन्नुभयो, ‘सबैसँग सल्लाह गर्नुस् मलाई केही छैन ।’सभापति शेरबहादुर देउवाले पुरानै क्रियाशील सदस्यबाट महाधिवेशन गर्दा ‘हामीलाई वास्ता गरेनन् भनेर भन्न सक्छन’। उहाँले नयाँ क्रियाशील सदस्यबाट विरोध हुन सक्ने बताउनु भएको छ ।