काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउन नसकेपछि काङ्ग्रेसले विकल्प दिन लागेको बताउनु भएको छ । झण्डै दुई तिहाइसहित सरकारको नेतृत्व गरेका ओलीले सरकार चलाउन नसकेपछि प्रमुख प्रतिपक्षी दलले विकल्प दिन लागेको उहाँको भनाइ थियो ।साथै प्रवक्ता शर्माले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा पनि विरोध गर्नु भएको छ ।
‘कोरोनाले जनता मरेर सेतो कात्रोमा भएका बेला प्रधानमन्त्रीले रातो झण्डा लिएर भोट माग्न जान मिल्दैन,’ प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आज आयोजित भर्चुअल कार्यक्रममा शर्माले भन्नु भएको छ । उहाँले प्रतिनिधि सभा पुर्नस्थापना हुनुपर्नेमा जोड दिनु भएको छ । संविधानको धारा ७६ को ५ अनुसार वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएकोमा उहाँले विरोध गर्नु भएको हो । ्उहाँले देशमा सङ्कट आइपरेकोले काङ्ग्रेसले निकास दिने पनि बताउनुभयो ।