काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले जनता कोरोनाबाट र लोकतन्त्र राष्ट्रपति र प्रधानमन्त्रीबाट जोखिममा परेको बताउनु भएको छ । नेपाल प्रेस युनियनको २९औँ स्थापना दिवसको अवसरमा भएको भर्चुअल अन्तक्रियात्मक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक कदम चालेर लोकतन्त्रमाथि नै धावा बोलेको बताउनु भएको हो । “अहिलेको बेला कोभिडले समस्या परेको छ । अर्कातिर, प्रजातन्त्रमाथि पनि खतरा आइपुगेको छ । असंवैधानिक अप्रजातान्त्रिक हस्तक्षेप गरेर प्रधानमन्त्री र राष्ट्रपतिले देशलाई सङ्कटमा पु¥याउनुभएको छ,” देउवाले भन्नुभयो, “यसका विरुद्ध मिडियाले पनि आजाव उठाउन आवश्यक छ । किनभने, लोकतन्त्र भएन भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितका अधिकार कुण्ठित हुनेछन् ।”
सभापति देउवाले काङ्ग्रेसले असंवैधानिक कदमका विरुद्ध आवाज उठाइरहेको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा गएको बताउनुभयो । “यस बेला जानुपर्ने जनतामा नै हो । तर, कोभिड महामारीका कारण सडकमा जाने अवस्था छैन । हामी यस बेला आन्दोलनमा जाऔँ भनेर केही साथीहरुले भन्दै हुनुहुन्थ्यो । तर, यस्तो बेला आन्दोलन गरेर कोभिड फैलाएर अपराध बोक्नु हुँदैन । त्यसैले मैले नै अहिले सडकमा जानु हुँदैन भनेको हुँ,” देउवाले भन्नुभएको छ, “मलाई विश्वास छ, सम्मानित सर्वोच्च अदालतले न्याय गर्नेछ ।”अन्तरक्रियामा देउवाले अन्य वक्ताले संसद्मा निर्दलीय अभ्यास हुन खोजेको बताएको जवाफ दिँदै नेपालको संविधान राम्रोसँग पढ्न आग्रह गर्दै संविधानको धारा ७६ (५)मा पुगेपछि दलीय अभ्यास सकिएर सांसदको हैसियतको अभ्यास सुरु हुने बताउनुभयो ।
“एकजनाले मित्रले निर्दलीय व्यवस्थाजस्तो भयो भन्नुभयो । उहाँलाई म नेपालको संविधान पढ्न अनुरोध गर्न चाहन्छु,” देउवाले भन्नुभयो, “नेपालको संविधानको धारा ७६ को उपधारा ५ मा उपधारा ३ बमोजिमको प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा २ बमोजिमका प्रतिनिधिसभा सदस्यमध्येबाट विश्वासको मत लिन सक्छु भन्ने आधार प्रस्तुत गर्ने कुनै पनि सदस्यलाई राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ । यहाँ दलको व्यवस्था छैन ।”उहाँले आफूहरु त्यही व्यवस्था बमोजिम राष्ट्रपतिसमक्ष दाबी लिएर जाँदा पनि राष्ट्रपतिले असंवैधानिक रुपमा खारेज गरेको दाबी गर्नुभयो । “हामीले लगेको प्रस्तावमा राष्ट्रपतिले मान्छे बोलाएर भेरिफाइ गर्न सक्नुहुन्थ्यो, भारतसहित अन्य देशमा पनि यस्तै अभ्यास छ,” देउवाले भन्नुभयो, “तर, राष्ट्रपतिले २ बजे राति खारेज गर्नुभयो । प्रधानमन्त्रीले असंवैधानिक कदम चालिसक्नुभएको थियो ।
सम्मान जनक पद धारण गरेको राष्ट्रपतिले प्रधानमन्त्रीले भन्दैमा मान्नुपर्ने थिएन । तर, राष्ट्रपतिजस्तो सम्मानित पदमा रहेर पनि उहाँ असंवैधानिक कदममा सहभागी भएर विवादित हुनुभएको छ ।”देउवाले राष्ट्रपतिबाट संविधान रक्षाको र पदीय जिम्मेवारीको दायित्व निर्वाह नभएको बताउनुभएको छ । “राति २ बजे के बित्दो थियो, उहाँलाई शङ्का लागेको भए मान्छे बोलाएर भेरिफाइ गर्न उहाँ किन तयार हुनु भएन ?,” देउवाको प्रश्न छ । उहाँले संविधानलाई नै परास्त गर्ने षड्यन्त्र भइरहेको पनि बताउनुभयो । सभापति देउवाले भन्नुभएको छ–“संविधानलाई परास्त गर्ने षड्यन्त्र हुँदै छ, त्यसलाई सफल हुन दिनु हुँदैन, त्यस्ता षड्यन्त्र परास्त गर्न सबै लागौँ । यसमा हामी सफल हुनेछौँ भन्ने विश्वास दिलाउँछु ।”