सोलुखुम्बु — बङ्गालको खाडीमा आएको चक्रवातले नेपालको मौसममा समेत प्रभावित तुल्याएको छ । देशभरको मौसममा परिवर्तन आएसँगै सामान्यदेखि भारी वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । योक्रम अझै तीन दिनसम्म रहने मौसमविद्ले बताएका छन् । सगरमाथा क्षेत्रमा हिजोदेखि बाक्लो हिमपात भएको छ । बाक्लो हिमपातका कारण आरोहण गरेर फर्किएका आरोहीहरु र आरोहणका लागि गएकाहरु दोश्रो शिविरमै रोकिएका छन् । आज पनि बिहानैदेखि हिमपात भइरहेको छ आधारशिविरमा रहको सम्पर्क अधिकृत खिमलाल गौतमले जानकारी दिनु भएको हो ।


बाक्लो हिमपातका कारण आरोहीहरुले सास्ती खेप्नुपरेको छ । आधारशिविरदेखि माथिका शिविरहरुमा दर्जनौं आरोहीहरु रहेको अनुमान छ । मे २९ तारिखका दिन आरोहण गर्ने उद्देश्यले कतिपय आरोहीहरु अहिले पहिलो शिविरबाट अगाडि बढेता पनि हिमपातले समस्या उत्पन्न गराएको गौतमले जानकारी गराउनु भयो ।


आधारशिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार केही आरोहीहरु आरोहण सकेर फर्किने क्रममा घाइते भएका छन् । खराब मौसमको कारण घाइते आरोहीहरुलाई हेलिकप्टरबाट उद्धार गर्न नसकिएको ओरोहीसँगै आरोहण कम्पनीका कामदारहरु समेत दोस्रो शिविरदेखि नै सामान सामान लिएर तल झर्न सकेको छैनन् । मौसममा सुधार नआएसम्म आरोही र कामदारहरुलाई यथास्थानमा सुरक्षित भएर बन्न अनुरोध गरिएकोे छ ।


यस वर्षको सगरमाथा आरोहण अन्तिम चरणमा पुगेको छ । आरोहण गरिसकेका कतिपय काठमाडौं फर्किसकेका छन् । अन्तिम पटक आरोहणका लागि अनुकुल मौसम कुरेर आरोहीहरु दोस्रो शिविरमा पुगेका छन् । यसवर्ष २ सयभन्दा बढीले आरोहीहरुले सगरमाथा आरोहण गरिसकेका छन् ।
फोटो सौजन्यः खिमलाल गौतम, सम्पर्क अधिकृत, आधारशिविर