काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमबाट दोस्रोपटक गरिएको संसद् विघटनको सुनुवाई आजबाट प्रारम्भ हुने भएको छ । संसद् विघटनको पक्ष र विपक्षमा गरी ३० वटा रिट परेका छन् । ति सबै रिट निवेदनहरुको सुनुवाई आज बिहीबारदेखि सुरु हुन लागेको हो ।

आइतबार र सोमबार गरी सर्वोच्च अदालतमा दर्ता भएका रिटमध्ये साधारण क्षेत्राधिकारतर्फ दर्ता भएका १९ वटा रिटको सुनुवाई बिहीबार र संवैधानिक इजलासमा जाने गरी दर्ता भएका ११ वटा रिटको सुनुवाई शुक्रबारका लागि पेशी तोकिएको छ । संसद् पुनस्थापना गरी काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै २६ वटा र राष्ट्रपतिको कदम सदर गर्नुपर्ने माग रहेका ४ वटा निवेदन छन् ।

गत सोमबार प्रतिनिधिसभाका १ सय ४६ जना सांसदहरुको हस्ताक्षर सहित विभिन्न २८ वटा रिट दर्ता भएको थियो भने मङ्गलबार थप दुईवटा दर्ता भएका छन् । विपक्षी गठबन्धनका १४६ जना सांसदमध्ये १३९ जना आफै उपस्थित भएर निवेदनमा सनाखत गरी रिट दिएका थिए भने बाँकी ७ जनाले वारेसनामा दिएर उपस्थिति जनाएका थिए । चारवटा निवेदन भने केपी ओलीलाई नै प्रधानमन्त्री तोकेर चुनाव जाने निर्णयलाई वैधानिकता दिनुपर्ने माग गरिएको छ । साधारण इजलासमा पेशी तोकिए पनि सुनुवाईका लागि भने सबै रिट संवैधानिक इजलासमा जाने कानुनविद्को भनाइ छ ।