काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणदर बढेको भन्दै कालिमाटी तरकारी बजारका व्यवसायीका सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । तरकारी ओसारपसारका लागि प्रयोग गरिने सवारी साधनमा जोर–बिजोर प्रणाली लगाउने निर्णय गरिएको बजार विकास समितिका कार्यकारी निर्देशकले जानकारी दिनु भएको छ । उहाँका अनुसार करिब ७० वटा सवारी साधन फलफुल तथा तरकारी ढुवानीका लागि प्रयोग हुँदै आएका छन् ।
 उपत्यका प्रशासनले तीन जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको छ । तर प्रशासनले तरकारीका सवारी साधनलाई अत्यावश्यक सेवाका रुपमा राखेर सञ्चालनमा अवरोध गरेको छैन । कालिमाटी तरकारी बजारमा किनमेलको नाममा भिड बढेको गुनासो बढ्न थालेको छ । धेरै गाडी भएर चालक र सहचालककै कारण पनि भिड बढी देखिएकाले जोर–बिजोर प्रणाली लगाउनुपरेको बजार विकास समितिका कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो । उहाँले उपत्यका बाहिरबाट तरकारी ल्याउने गाडीमा भने जोरविजोर प्रणाली लागू नहुने जानकारी दिनुभएको छ ।