काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिने पहल गरिदिन अनुरोध गर्नु भएको छ । मङ्गलबार कूटनीतिक माध्यमबाट पत्राचार गर्दै खोप उपलब्ध गराउने पहलका लागि आग्रह गरेको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभएको हो । पत्राचारमा भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद समेत दिएको सञ्चार विज्ञ टीका ढकालले बताउनुभयो ।
’कोरोनाको दोस्रो लहरले नेपाललाई पनि आक्रान्त बनाएको छ । यसलाई रोक्ने प्रभावकारी उपाय खोप नै भएकाले खोप उपलब्ध गराउने पहलका लागि कूटनीतिक माध्यमबाट पत्राचार गरी राष्ट्रपतिले आग्रह गर्नुभएको हो,’। नेपाल सरकारले खोप किन्नका लागि मार्चमा रकम तिरिसकेको छ । राष्ट्रपतिले भने त्यही खोप र थप खोप पठाउने पहल गरिदिन आग्रह गर्नुभएको हो । भारतले यसअघि १० लाख खोप अनुदान दिएको थियो । त्यसपछि नेपालले २० लाख खोप किन्नका लागि भारतलाई रकम उपलब्ध गराएको थियो । त्योमध्ये १० लाख खोप आएको छ भने बाँकी १० लाख खोप आउन बाँकी छ ।