काठमाडौं – काठमाडौंमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंको कीर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले जानकारी दिनुभयो । प्रारम्भिक रुपमा करीब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसङ्क्रमण गर्न बुधबार बिहानैदेखि प्राविधिक खटिएको सूचना अधिकारी ढकालले जानकारी दिनुभएको छ ।
अस्वभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पीसीआर विधिबाट गरेको परीक्षणमा बर्डफ्लु पुष्टि भएको हो । ‘हामी अहिले सङ्क्रमण थप फैलन रोक्ने काम गरिरहेका छौं ।’ सूचना अधिकारी ढकालले भन्नुभयो– व्यवसायीक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा उक्त सङ्क्रमण पाइएको विभागले जनाएको छ । पन्छी नष्ट र निसङ्क्रमण विधि सकिएपछि बुधबार साँझसम्म विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको विभागले जनाएको छ । काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा केही महिना अघि लोकल कुखुरा र टर्कीमा बर्डफ्लु पाइएको थियो ।