काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नु भएको छ । विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको जनाउँदै उहाँले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिंँदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनु भएको छ । शान्तिका दूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक¸ सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव¸सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्वशान्तिका लागि समेत मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नु भएको हो । 
   सम्पूर्ण विश्वले कोभिड १९ का महामारीबाट उन्मुक्ति पाउने आशा व्यक्त गर्दै राष्ट्रपतिले बुद्धजयन्तीका अवसरले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना पनि गर्नु भएको छ । वैशाख शुक्लपक्ष पूर्णिमा तिथिको दिन बौद्धदर्शनका प्रवत्र्तक राष्ट्रिय विभूति गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म¸ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्विभरका बौद्ध धर्मावलम्बीद्वारा गौतमबुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ । राष्ट्रपतिले किराँत समुदायको महान् पर्व उभौलीका शुभअवसरमा आजै स्वदेश तथा विदेशका राई, लिम्बू, याक्खा, सुनुवार लगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नु भएको छ । 
   ‘जातीय¸भाषिक र सांस्कृतिक बहुलता नेपाली समाजको मौलिक पहिचान हो । यो हाम्रो कमजोरी हैन, बरु शक्ति हो । यस प्रकारका चाडपर्वहरूले विविध जातजाति र समुदायबीच आपसी सद्भाव¸ सहिष्णुता र बन्धुत्वको भावनालाई अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन टेवा पुर्याउने विश्वास लिएको छु’, सन्देशमा भनिएको छ । उभौलीले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपतिको छ । जाडो सकिएर गर्मी शुरु हुने बेला अर्थात् वसन्त ऋतुको आगमनसँगै मानिस, जीवजन्तु तथा पशुपक्षी बेँसीबाट लेकतिर बसाइँ सर्ने समयमा पितृ र प्रकृतिपूजक किराँत समुदायले वैशाख पूर्णीमाको दिन उभौली पर्व मनाउँछन् । यो समय बालीनाली लगाउने बेलासमेत भएकाले लगाइएको अन्नबाली सप्रियोस्, रोगव्याधि नलागोस्, खडेरी, बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नआऊन् भनी भूमिपूजा र पितृपूजा गर्ने परम्परा छ । विशेषगरी पूर्वी पहाड र तराईका जिल्लाका साथै काठमाडौंँ उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायले यो पर्वलाई भव्यताका साथ मनाउँछन् ।