काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसहित चारजना नेतालाई स्पष्टीकरण सोध्नु भएको छ । एक गुटले अर्को गुटलाई कारवाही र स्पष्टीकरण सोध्ने क्रम पनि त्यतिकै छ । अध्यक्ष उपेन्द्र यादव पक्षको आइतबार बसेको केन्द्रीय कार्याकारिणी परिषद्को बैठकले ठाकुरसहित नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ सुुक्ललाई प्रष्टिकरण सोध्ने निर्णय गरेको थियो । त्यसको तीन दिन पछि हिजो मङ्गलबार अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलगायतका चारजना नेतालाई पार्टी निर्णय विपरीत काम गरेको भन्दै तीन दिनको समयसीमा तोकेर सात बुँदे स्पष्टीकरण माग्नु भएको छ ।

जसपा भित्रको विवाद कुनै सिद्धान्त, विचार र कार्यनीतिमा भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध र समर्थनमा मात्रै केन्द्रीत देखिन्छ । शक्ति आर्जन र सत्ता समीकरणमा मात्रै जसपाका दुवै पक्ष केन्द्रीत छन् ।

अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवलाई सोधिएको स्पष्टीकरण पत्रमा ‘तपाईको काम कारवाही र कृयाकलापहरु हाम्रो पार्टी, जनता समाजवादी पार्टी, नेपालको मुल्यमान्यता, निती तथा विधान विपरित भैरहेको हुँदा, तपाईलाई पार्टी विधानको दफा ४९ मा भएको अनुशासनको कारवाही सम्बन्धी व्यवस्थाअनुसार यो स्पष्टीकरण सोध्ने कार्य भएको छ, तल उल्लेखित विषयहरुमा आजको मितिले ३ दिन भित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन हुन अनुरोध छ’ भनि उल्लेख गरिएको छ ।


जसपा अध्यक्ष महन्थ ठाकुरले सोध्नु भएको स्पष्टीकरणका बुँदाहरु यस्ता छन्

(१) पार्टी एकता भएदेखि नै समायोजनमा रुचि नलिई विभिन्न जिल्लाहरुमा पार्टी एकता विरोधी गुटगत रुपमा बैठक, प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधिहरु किन सञ्चालन गर्नु भयो ?

(२) मेरो जानकारी बेगर अनअधिकृत रुपमा पार्टीको केन्द्रीय कार्यकारिणी समितीको तथाकथित बैठक बसी लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई किन निस्काशन गर्नु भयो ?


(३) तपाईले मिति २०७८/०२/०७ गते पार्टीद्वारा जारी गरिएको सर्कुलर बमोजिम कोभिड १९ को महामारीको बढ्दो सङ्क्रमणले २०७८/०२÷०८ र ९ गते निर्धारण गरिएको बैठक स्थगित गरिएकोमा कुन कारण र मनसायका साथ केन्द्रीय कार्यकारिणी समितीको बैठक बोलाई एकल अध्यक्षता गरी पार्टी हित विपरित निर्णयहरु गर्नु भयो ?

(४) पछिल्लो समयमा मैले रोक्दा रोक्दै अनअधिकृत रुपमा एकल अध्यक्षतामा निरन्तर पार्टीको केन्द्रीय कार्यकारिणी समितीको तथाकथित बैठकहरु बसी पार्टी हित विपरित विभिन्न खाले निर्णयहरु किन गर्नुभयो ?

(५) विगतका दिनहरुमा पार्टी र पार्टी सम्बद्ध मोर्चा तथा गठवन्धनद्वारा गरिएको सङ्घर्ष र आन्दोलनको क्रममा आन्दोलनकारी साथीहरु माथि लगाईएका झुट्ठा मुद्दा फिर्ता, बन्दी रिहाई, उत्पीडित जातजाति र समुदायहरुको समानुपातिक समावेशी प्रतिनिधित्व, समानता, पहिचान र अधिकार प्राप्तीको निम्ति अपूर्ण रहेको संविधानमा संशोधन, नागरिकता सम्बन्धी समस्याको समाधान गर्ने उद्देश्यले गठित कार्यदलका सदस्यहरु श्री लक्ष्मणलाल कर्ण र श्री सर्वेन्द्रनाथ शुक्लले माग मुद्दा समाधान गराउने सवालमा जनभावना अनुरुप सकारात्मक कामहरु गरिरहेको अवस्थामा तपाईलाई किन ठेस पुग्यो र के कारणले अनुशासनको कारवाही प्रक्रिया अगाडि बढाउनु भयो ?

(६) तपाईले मिति २०७८/०२/०६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधिसभा सदस्य श्री के.पी. शर्मा ओलीलाई समर्थन गर्नु पर्नेमा त्यसको विपरीत विपक्षी गठबन्धनका उम्मेदवार श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति २०७८/२ /०७ गते किन र कुन कारणले हस्ताक्षर गर्नु भयो ?

(७) तपाईले सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गर्नु भयो ?