काठमाडौं – कोरोना भाइरस सङ्क्रमका कारण रोकिएका सबै परीक्षहरु वैकल्पिक विधिबाट लिन त्रिभूवन विश्वविद्यालयले सबै सरोकार पक्षहरुसँग आग्रह गरेको छ । आज त्रि.वि.वि.का उपकुलपति डा. धर्मकान्त बास्कोटाले एक विज्ञप्ती जारी गर्दै उक्त कुरा अनुरोध गर्नुभएको हो ।

देशमा व्याप्त कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा त्रि.वि.वि.को शैक्षिक गतिविधिमा असर नपरोस् भन्ने अभिप्रायले वैकल्पिक विधिबाट परीक्षा लिने व्यवस्था मिलाउन सबै पक्षसँग अनुरोध गर्नुभएको छ ।

उपकुलपति डा. बास्कोटाद्वारा जारी विज्ञप्तिमा ‘यस विषम परिस्थितिसँग जुध्न आफ्नो तर्फबाट हुन सक्ने र गर्न सकिने सबै प्रकारको सहयोग अगाडि बढाउन र पठनपाठन अवरुद्ध हुन नदिनका लागि वैकल्पिक विधि मार्फत सुचारु भएका कक्षाहरुलाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी रहेका कक्षाहरु सुचारु गर्न तथा रोकिएका परीक्षाहरु पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैलाई आग्रह गर्दछु’ भनिएको छ ।

यसैगरी उपकुलपति डा. बास्कोटाले आफ्ना सबै विद्यार्थीहरुलाई तत्काल आ–आफ्नो विभाग, क्याम्पस, स्कूल तथा डीन कार्यालयको सम्पर्कमा आउन पनि विज्ञप्तीमार्पmत् आग्रह गर्नुभएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीले गर्दा केही समयदेखि त्रिभूवन विश्वविद्यालय अन्तर्गत स्नातक, स्नातकोत्तरका सबै किसिमका परीक्षाहरु रोकिएका छन् ।