काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता गगन थापाले अहंकारी प्रधानमन्त्रीका कारण पटक पटक न्यायालय आउनुपरेको बताउन भएको छ । आज सोमबार संसद विघटनविरुद्ध रिट दायर गर्न गएका बेला सर्वोच्च अदालत प्राङ्गणमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले संविधान विरोधी र गैरजिम्मेवारी प्रधानमन्त्री पाउनुपर्ला भन्ने कुरा संविधान लेख्ने बेला कल्पना पनि नगरिएको बताउनुभयो । 
   नेता थापाले भन्नुभएको छ–‘यस्तो संविधानविरोधी, गैरजिम्मेवार, अयोग्य, अहंकारी प्रधानमन्त्री प्राप्त गर्नुपर्ला भन्ने कल्पना थिएन, स्वेच्छाचारी कार्यकारी भएपछि पटक पटक न्यायालय आउनुप¥यो   ’संसदको अङ्कगणितका कारण धारा ७६(५) बाट बाहेक वैकल्पिक सरकार बन्ने अवस्था नदेखिएको भन्दै नेता थापाले सर्वोच्च अदालतले संविधानको धारा र गत वर्ष संसद विघटनको मुद्दामा गरेको संविधानको ब्याख्याका आधारमा फेरि संसद पुनर्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘सर्वोच्चले हाम्रो संवैधानिक हकमा दायाँबायाँ केही गर्दैन भन्ने विश्वास छ ।’