काठमाडौं – साहित्यकार डा.बानीरा गिरिको गएराति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा घण्टामा नै उनको निधन भएको थियो । उहाँ मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित हुनुहुन्थ्यो । त्रिमूर्ति निकेतनका आयोजनामा डा. गिरिलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइनुका साथै रु ५ लाख राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधि पनि दिइएको थियो । वि.सं २०७६ मा वानीरा फाउण्डेशनको स्थापना भएको थियो । सो फाउण्डेशनको पूँजी करीब रु ७ करोड बराबर रहेको संस्थाका सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभएको छ ।
डा.गिरिको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उहाँ वि.सं २०२२ मा स्नातकोत्तर अध्ययन गर्न काठमाडौं आउनु भएको थियो । उहाँ २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेशामा आबद्ध भएर नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने (गोपालप्रसाद रिमालको काव्यसम्बन्धी २०४२) पहिलो नारी हुनुहुन्छ । डा.गिरिका जीवन थाय्मरु, शान्तनु, कारागार जस्ता कविता, निबन्ध र उपन्यास गरेर १४ कृति प्रकाशित छन् । उहाँका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । – रासस