काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा जुटेको छ । जसपा नेपालका एक नेताका अनुसार रिक्त रहेका मन्त्रालय लिने गरी सरकारमा आउन प्रधानमन्त्री ओलीले आग्रह गरिरहेका छन् । आफूहरूले उठाएका माग ओली सरकारले पूरा गर्दै गएकोले सरकारमा जानुपर्ने मत अध्यक्ष ठाकुर पक्षभित्र छ । अरू माग पनि पूरा गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले देखाएकोले सरकारमा जानुपर्ने निश्कर्षमा अध्यक्ष ठाकुर र नेता महतो छन् । ‘हामीले राखेका माग ओली सरकारबाट पूरा भइरहेका छन् । अब हाम्रो छलफल सरकारमा सहभागिता जनाउने विषयमा नै केन्द्रीत हुन्छ,’ अध्यक्ष ठाकुरनिकट जसपाका ती नेताले भने, ‘प्रधानमन्त्रीले पनि खालि रहेका ७ मन्त्रालयमा मन्त्री पठाउन भन्नु भएको छ ।
यसबारे अझै गम्भीर रूपमा छलफल गर्छौं ।’ ओलीले अहिले रहेका मन्त्री नहटाइकन यसअघिदेखि नै रिक्त मन्त्रालय जसपालाई दिने गरी सरकारमा आउन भनेका छन्। नेकपा माओवादी छाडेर एमालेमा आएकालाई दिइएको ७ मन्त्रालय केही दिनदेखि रिक्त छ । ती मन्त्रालय प्रधानमन्त्री ओली आफैँले हेर्ने गरी राखिएको छ । संविधानअनुसार २५ जना मन्त्री बनाउन मिल्छ । स्रोतकाअनुसार ठाकुर पक्षले ८ जना मन्त्री र २ राज्यमन्त्री मागेको छ । तर अब सात जना मात्रै मन्त्री थप गर्न मिल्छ । आकाङ्क्षी धेरै भएकोले व्यवस्थापन गर्न ८ जना मन्त्री दिनुपर्ने ठाकुरले ओलीसँग माग गरेको स्रोतको दावी छ ।
जसपाका अर्का अध्यक्ष बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष भने सरकारमा जाने पक्षमा छैन । उनीहरूले प्रतिनिधि सभा विघटन गरेकोमा विरोध गरिरहेका छन् । ओली सरकारको विकल्प खोज्नुपर्नेमा भट्टराई र यादव छन् । साथै उनीहरूले हालै केन्द्रीय कार्यकारिणी समिति बैठक गरेर सरकारमा गए कारवाही गर्ने चेतावनी दिएका छन् । तर ओली सरकारमा जानेबारे पार्टीभित्र विवाद नरहेको महन्थ ठाकुरनिकट नेता सुरेन्द्र झाले दावी गरेका छन् । आफूहरूको मुख्य सवाल सरकारभन्दा पनि मागहरू रहेको र त्यो ओली सरकारले पूरा गरिरहेको उनले बताए । आफूहरूका माग ओलीले सकरात्मक ढंगले अगाडि बढाएकोले सहकार्य हुन सक्ने उनले बताए । ‘सरकारले हाम्रा मुख्य माग सम्बोधन गरेको छ। प्रधानमन्त्रीले पनि सकरात्मक ढंगले माग पूरा गर्छु भनिरहनुभएको छ । त्यसैले हाम्रो पनि उहाँसँग सहकार्य हुने सम्भावना बढेको छ,’ उनले भनेका छन् ।