काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी भइरहेको छ । दोस्रो लहरको कोरोना सङ्क्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको हो । सर्वपक्षीय छलफलको निष्कर्षलाई उद्धृत गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भन्नुभयो–‘अहिलेको अवस्थामा निषेधाज्ञालाई निरन्तरता दिनुको विकल्प छैन ।’ उहाँका अनुसार अब काठमाडौं उपत्यकामा थपिने एक साताको निषेधाज्ञा थप कडा हुनेछ ।
विशेषगरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार, ‘तरकारी पसल एक साताका लागि बन्द गर्ने हो वा यहाँ हुने भिडभाड कसरी व्यवस्थापन गर्ने हो भन्ने विषयमा छलफल भइरहेको छ ।’ तरकारी तथा खाद्यान्न पसल बिहान १० बजेसम्म खुल्ने गरेका थिए । उपत्यकामा जारी निषेधाज्ञाको समयावधि जेठ १३ गतेसम्म छ । त्यसअगावै प्रशासनले थप एक साताको निषेधाज्ञा आदेश जारी गर्दैछ । 
यसैगरी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, संवैधानिक निकायहरूमा पनि हालको उपस्थितिबारे छलफल हुने भएको छ । पराजुलीले यस सम्बन्धमा गृह मन्त्रालयमा छलफल हुने र त्यसबाट ती निकायमा सीमित जनशक्ति मात्र उपस्थित गराउनेबारे निर्णय हुने जानकारी दिनुभएको छ । यही बीचमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी अध्यादेश जारी भएको छ । अध्यादेशअनुसार सङ्क्रामक रोग नियन्त्रणमा चालिएका प्रयासहरूलाई थप कडा गरिने छ । अध्यादेशले कारबाही तथा जरिवाना बढाएको छ ।