काठमाडौं– सरकारले कोभिड–१९ विरुद्धको खोप वितरणमा नेपाललाई विशेष प्राथमिकता दिन अमेरिकासँग आग्रह गर्नु भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज अमेरिकी उपविदेश मन्त्री बेन्डी शर्मनसँग टेलिफोन सम्वाद गर्दै उक्त आग्रह गर्नु भएको हो ।

दुवै देशमा परराष्ट्रमन्त्रीबीच भएको टेलिफोन सम्वाद बारे परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । उक्त विज्ञप्तीमा ‘अमेरिकाले गरेको सहयोगका कारण कोरोना भाइरसविरुद्धको अभियानलाई बिस्तार गर्न नेपाललाई राम्रो सहयोग पुगेको भन्दै उपविदेशमन्त्री विन्डी मार्फत अमेरिका सरकारप्रति कृतज्ञता व्यक्त गर्नु भयो । साथै उहाँले खोप वितरणमा नेपाललाई प्राथमिकतामा राख्नका लागि पनि आग्रह गर्नु भएको छ’ भनिएको छ ।

अमेरिकी उपविदेश मन्त्री विन्डीले कोरोना भाइरसको महामारी विरुद्धको अभियानसँगै सामाजिक आर्थिक क्षेत्रको सुधारका लागि अमेरिकाले गर्दै आएको सहयोग थप बढाउनेमा वर्तमान प्रशासन प्रतिवद्ध रहेको उल्लेख गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

टेलिफोन संवादका क्रममा अमेरिकी उपविदेशमन्त्रीले नेपालका लागि अमेरिकी सहयोग जारी रहने भन्दै सुरु हुने क्रममा रहेका परियोजनाहरुप्रति समेत चासो व्यक्त गरेको जनाइएको छ । टेलिफोन वार्ताको क्रममा द्विपक्षीय हित तथा आपसी सहयोग–सहकार्यका सम्बन्धमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालले आगामी अक्टोबरमा सगरमाथा संवादको तयारी गरेको छ । यस्तै कोरोना भाइरसको महामारीका कारण असर परेको अर्थतन्त्र सुधारका लागि गर्न सकिने प्रयासबारे पनि दुई मन्त्रीबिच कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।