काठमाडौं – कोरोना भाइरसको महामारीका बिच यो वर्ष जारी आरोहणका क्रममा हालसम्म कम्तीमा ३ सय २० आरोहीले सगरमाथाको आरोहण गरिसकेका छन् । विभागले यो वर्ष सगरमाथा आरोहणका लागि ४ सय ८ जनालाई अनुमति दिएको थियो । पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका अनुसार आइतबार एकै दिन १ सय ७० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुका आरोहण सिजन अन्तर्गत आज आइतबार विभिन्न एजेन्सी मार्फत गएका आरोहीहरुले सफल आरोहण गरेको जानकारी आएको विभागकी निर्देशकले जानकारी दिएकी छन् ।
आइतबार सबैभन्दा धेरै हिमालयन गाइड्सबाट गएका ३८ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यो सिजनमा आइतबार एकैदिन सबैभन्दा धेरैले आरोहण गरेका हुन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि केही एजेन्सीहरुले आफ्नो यो वर्षको आरोहण अभियान रद्द गरेका छन् भने केही आरोहीहरुलाई उद्धार गरिएको छ । सगरमाथा आरोहणका लागि गएका आरोहीहरु कोरोना भाइरसको सङ्क्रमणका कारण काठमाडौं आएर उपचार गराए पनि अहिलेसम्म विभागले भने औपचारिक रुपमा सो कुरा स्वीकार गरेको छैन ।
सगरमाथा क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको कुरा आफ्नो जानकारीमा नरहेको विभागले दाबी गर्दै आएको छ । तर आरोही तथा तिनका एजेन्सीहरुले भने सङ्क्रमण फैलिएको बताएका छन् । कोरोना कहरकै बिच जारी सिजनका लागि अनुमति दिएका आरोहीहरुलाई नियम अनुसार ७५ दिनसम्मको समय दिनु पर्ने र सोही अनुसार योजना बनिरहेको विभागले जनाएको छ ।