काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश (पहिलो संशोधन) २०७८ जारी गर्नु भएको छ ।  जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराउनु भएको थियो । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्ष अघिदेखि छलफलका क्रममा थियो । तर सरकारले संसद विघटन गरेपछि अध्यादेशको रुपमा अर्को नागरिकता ऐन ल्याएको हो । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।