काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित गरेको स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम जेठ १० गतेदेखि २० गतेसम्म भरिसक्नु पर्ने जनाएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार सूचना जारी गर्दै आवेदन फारम अनलाइनमार्फत पनि भर्न सकिने जनाएको हो । यस्तै दोब्बर दस्तुर बुझाई फारम भर्ने अवधि असार १ गतेदेखि असार ७ गतेसम्म तोकिएको छ । स्थगित गरेको परीक्षा साउन मसान्तभित्र परीक्षा सम्पन्न गरिसक्नु पर्ने त्रिविले जनाएको छ ।
‘कोभिड –१९ को दोस्रो लहरको प्रकोपका कारण स्थगित गरिएको स्नातक तह प्रथम वर्षको परीक्षा २०७८ जेठ १० गतेदेखि २०७८ जेठ २० गतेसम्म क्याम्पसमा सङ्कलन भएका आवेदन फारमहरु सम्बन्धित क्याम्पसबाट भराउने र आवेदन फारम छुट हुन गएका परीक्षार्थीहरुको आवेदन फारम मिति २०७८ जेठ १२ गतेदेखि २०७८ जेठ २० गतेसम्म अनलाइनबाट सम्बन्धित परीक्षार्थीहरु स्वयम्ले भर्न सक्ने भएका छन् । क्याम्पस र परीक्षार्थीहरुबाट भरिएका सम्पूर्ण फारमहरु सम्बन्धित क्याम्पसले रुजु गरी सोको रकम भुक्तानी गरी मिति २०७८ जेठ २३ गतेभित्र इन्ट्री गरिसक्नु पर्नेछ,’भनी सूचनामा उल्लेख गरिएको छ ।