काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा विघटन गरेपछि विरोधमा रहेका विपक्षी गठबन्धन आज सर्वोच्च अदालत नजाने भएको छ । हस्ताक्षर जुटाउने कार्य अझै जुटिनसकेकाले आजका लागि सर्वोच्च नजाने र बाँकी आवश्यक प्रक्रिया पूरा गरेर भोलि बिहान १० बजे सर्वोच्च जान तय भएको एमाले एक नेताले जानकारी दिएका छन् । रिटको मस्यौदाले पूर्णता पाउन समय लागेकाले सोमबार बिहान १० बजे रिट दायर गरिने नेपाली काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभएको छ ।माओवादी केन्द्रका नेता वर्षमान पुनले सबै हस्ताक्षर सकिएकाले रिटको मस्यौदाले आइतबार पूर्णता पाउने र सोमबार रिट दर्ता गर्न जाने बताउनुभयो ।
नेताहरुका अनुसार आज विपक्षी गठबन्धनका काङ्ग्रेस, माओवादीका साथै जसपाको उपेन्द्र यादव र एमालेको माधव कुमार नेपाल समूहका जम्मा १ सय ४३ सांसदको हस्ताक्षर जुटिसकेको छ । यस्तै एमालेको नेपाल समूहका ६ सांसदले भने हस्ताक्षर नगरेको र उनीहरुलाई मनाउन प्रयास जारी रहेको बताइएको छ । सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर जेठ ७ गते विपक्षी गठबन्धनले राष्ट्रपतिसमक्ष १ सय ४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेको थियो । तर सो हस्ताक्षरलाई राष्ट्रपतिले वैधता मान्नुभएन ।
यस्तै एमाले अध्यक्ष केपी ओलीले पनि आफ्नो पक्षमा १५३ सांसद रहेको दावी पेश गर्नु भएको थियो । तर दुबै पक्षले बुझाएको हस्ताक्षरका कैफियत देखाउँदै राष्ट्रपतिले आफ्नो आह्वान अनुसार संविधानको धारा ७६(५) अनुसार सरकार बन्न नसकेको उल्लेख गरे लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राखेर संसद विघटनको सिफारिस गर्दा राष्ट्रपतिले तुरुन्तै स्वीकृत दिनु भएको थियो । राष्ट्रपतिको कदमपछि शनिबार विपक्षी गठबन्धनको बैठक बसेर राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयप्रति राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय भएको थियो ।