काठमाडौं– जनता समाजवादी पार्टीमा एकले अर्को पक्षलाई कारवाही गर्ने म्याराथुन चलेको छ । प्रधानमन्त्री केपी शर्माको पक्ष र विपक्षमा विभाजित जनता समाजवादी पार्टीको हिजो शनिबार साँझ कार्यकारिणी समितिको बैठक अध्यक्ष उपेन्द्र यादवले बोलाउनु भयो । त्यसको लगतै अर्का अध्यक्ष महन्थ ठाकुरले बैठक स्थगित भएको भन्दै विज्ञप्ती जारी गर्नु भयो । तर उपेन्द्र पक्षका कार्यकारिणी सदस्यहरु बैठकमा उपस्थित हुनुभयो र उक्त बैठकले महन्थ ठाकुर, राजेन्द्र महतोसहितका ४ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निणर्य गर्यो । त्यसैको विरुद्ध आज फेरी जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले आफु पक्षीय कार्यकारिणी समितिको बैठक बोलाउनु भएको छ । र बैठक अहिले बबरमहलमा बसिरहेको छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने–नहुने, अध्यक्ष उपेन्द्र यादव पक्षले गरेका निर्णय र सो पक्षलाई कारबाही गर्नेलगायतका विषयमा बैठक केन्द्रीत भएको स्रोतले बताएको छ । त्यसअघि अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त हस्ताक्षरगरी ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको थियो । तर अध्यक्ष ठाकुरले जेठ ७ गते विज्ञप्ति जारी गर्दै पार्टीको कार्यकारिणी समितिको बैठक स्थगित गरेको जानकारी गराए ।

दुवै अध्यक्षको विवादको बिच हिजो शनिबार सामाखुसीको एक पार्टी प्यालेसमा उपेन्द्र यादवको अध्यक्षतामा कार्यकारिणी समितिको बैठक बसेको थियो । सो बैठकबाट महन्थ ठाकुरलगायतका नेतालाई कारवाही गर्नुको साथै ठाकुर पक्षीय नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने निर्णयलाई पनि खारेज गरेको थियो ।