काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनप्रति कटाक्ष गर्दै मोर्चा कस्दैमा सत्य परिवर्तन नहुने बताउनु भएको छ । विपक्षी गठबन्धनले राष्ट्रपतिको अधिकार र मर्यादाको ख्याल नगरेको उनको भनाइ थियो । विपक्षी गठबन्धनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको मागसहित अदालत जाने तयारी गरेका छन् । उनीहरूको तयारीप्रति प्रधानमन्त्रीले कटाक्ष गर्नु भएको हो ।
  आइतबार बालुवाटारमा  आयोजित एमाले निकट पत्रकारको सङ्गठन प्रेस चौतारी नेपालले गरेको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले आफ्नो संसद विघटनको कदम संवैधानिक रहेको भन्दै मोर्चा कस्दैमा न्यायालय प्रभावित नहुने बताउनु भएको हो । उहाँले भन्नुभएको छ–’मोर्चा कसेर मुद्दा हाल्दैमा सही कुरा गलत हुँदैन । न्याय माग्न बल देखाउनु पर्दैन,’ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा पेस भएको दाबीमा स्वविवेक प्रयोग भएकाले राष्ट्रपतिमाथि कुनै उजुरी नलाग्ने उहाँको भनाइ थियो ।