काठमाडौं – बाग्मती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटाले आफूलाई चुनावबाट पछि हट्न धेरै जनाले थर्काएको सामाजिक सञ्जालमार्फत् खुलासा गर्नु भएको छ । डा. देवकोटामा आफ्नो स्ट्याटस‘ भागेर लुकेर, जालसाजी गरेर केही समय त टिकिएला, तर बुझ्न जरुरी के पनि छ भने निष्ठा र इमान्दारिताको राजनीतिबाट भागेर नहिडौं भन्दै नेताहरुलाई सचेत गराउनु भएको छ ।

डा. देवकोटाले सामाजिक सञ्जाल फेसबुकमा यसरी स्ट्याटस लेख्नु भएको छ ‘व्यक्तिगतरुपमा मलाई चुनावबाट ब्याक हुन धेरैजनाले फकाए–थर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौंला । कसै कसैको त भ्वाइस रेकर्ड नै राखेको छु । तर म अडिग रहें । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्ररुपमा कलम चलाउने बुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो । हामी कलङ्कित हुने थियौं । लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामी जस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि सही गरेपछि, वचनबद्ध भएपछि पूरा गर्नुपर्छ । भागेर, लुकेर, जालसाजी गरेर केही समय त टिकिएला, तर बुझ्न जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ । निष्ठा र इमान्दारिताको राजनीतिबाट भागेर नहिडौं । बोली र इमानमा कटिवद्ध होऔं ।’