काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका नेताहरु माथि कारबाही निर्णय गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको पार्टी कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो लगायत चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

जसपाको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन र असंवैधानिक कदमलाई साथ दिंदै आएको भन्दै केही सांसदहरुलाई समेत कारवाही गर्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीको निर्णयविपरित काम गरेको कारण स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । त्यस्तै, प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमलाई समर्थन गर्दै गठन गरिएको कार्यदलमा बसेको कारण लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

महन्थ–राजेन्द्र गुटले केही दिन पहिलो जसपाको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरे पछि थप रुष्ट बनेको उपेन्द्र समूहले राजेन्द्र महतोलाई संसदीय दलको नेताबाट समेत हटाएको छ । यसअघि अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भएको छलफलमा पनि राजेन्द्र महतोको सो पदलाई खारेज गर्ने निर्णय भएको थियो । तर अध्यक्ष ठाकुरले अझै त्यसलाई निरन्तरता दिएकोप्रति बैठकमा आपत्ति जनाइएको थियो । अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शनिबार साँझ बसेको कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद् विघटनको कदमलाई असंवैधानिक र प्रतिगामी कदम ठहर गर्दै आपत्ति जनााएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको र त्यसलाई घोर निन्दा गरेको बताए । प्रधानमन्त्री कदमको विरुद्धमा आज पाँच दलले गरेको निर्णय र जारी गरेको विज्ञप्तिप्रति जसपा नेपालको बैठकले समर्थन जनाएको छ । प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको कानुनी उपचार खोज्ने र संघर्ष गर्ने निर्णय समेत गरेको अध्यक्ष यादवले जानकारी गराएका छन् ।

अध्यक्ष उपेन्द्र यादवले बोलाएको कार्यकारिणी समितिको बैठक स्थगित भएको भन्दै अर्का अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ती जारी गरेपछि पुनः अध्यक्ष यादवले बैठक स्थगित नभएको कुरा कार्यकारिणी समितिका सदस्यहरुलाई जानकारी दिएका थिए । उक्त बैठकमा प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने महन्थ–राजेन्द्र पक्षीय कार्यकारिणी समितिका सदस्य तथा सांसदहरु सहभागी भएनन् ।