काठमाडौं –जनस्वास्थ्यविद्हरूले अहिले चुनाव गर्ने समय नरहेको बताएका छन् । तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिरहेकाले चुनाव गराउनु नहुने उनीहरूको तर्क छ । जनस्वास्थ्यविद् डा. सुजन मरहठ्ठाका अनुसार, ‘अझै सङ्क्रमणको उच्च जोखिममा छौँ । ५–६ महिना हाम्रो लागि कठिन छ । यो समय चुनाव गराउनु भनेको मृत्युलाई आमन्त्रण गर्नु हो’, ‘सरकारले जनतालाई आत्महत्या गर भन्न खोजेको देखियो ।’ चुनावकै कारण भारतमा सङ्क्रमण फैलिएको तर्क गर्दै उनले नेपालले त्यो भूल गर्न नहुने बताए । ‘भारतको केही प्रान्तमा भएको चुनावले सङ्क्रमण फैलिएको हो । त्यो देख्दादेख्दै हामी त्यो बाटोमा जानुहुन्न’, उनले भने, ‘सङ्क्रमण ओरोलो लागेको छैन । तेस्रो लहरको जोखिम कायमै छ ।’
जनस्वास्थ्यको दृष्टिकोणले ६ महिनाभित्र चुनाव गराउने आधार नरहेको उनको ठम्याइ छ । ‘महामारीमा चुनाव गराउनु भनेको आत्मघाती काम हो । यो समयमा म आफैँ भोट हाल्न जान्नँ । भ्याक्सिन छैन । भीडभाड भोजभतेरमा जाने समय भएको छैन’, उनले भने, ‘चुनावमा गएर थप मानिस मरे भने त्यसको जिम्मेवार सरकार हुन्छ ?’इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. वासुदेव पाण्डे पनि अहिले चुनावको समय नभएको बताउँछन् । ‘सबैको ध्यान महामारी नियन्त्रण गर्न हुनुपर्ने हो’, डा. पाण्डे भन्छन्, ‘चुनावले झन नराम्रो असर गर्छ । जे गर्न नुहुने हो त्यही भइरहेको छ ।’
कोभिड बिरामीको उपचार नै अहिलेको प्राथमिकता हुनुपर्ने उनको भनाइ छ । ‘अस्पतालको व्यवस्थापन, नयाँ भाइरस हो होइन त्यो हेर्न लाग्नुपर्ने हो’, उनी भन्छन्, ‘चुनावले भीडभाड बढ्छ । यसले थप जोखिम निम्त्याउँछ ।’मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गर्नु भएको छ ।