काठमाडौं – प्रतिपक्षी दल नेपाली नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्नु दुःखद् भएको बताउनु भएको छ । महामन्त्री डा.कोइरालाले आज  एक विज्ञप्ति जारी गरी राष्ट्रपतिको आव्हान अनुसार नै वैकल्पिक सरकारको दावी गरिएको अवस्थामा संसद् विघटन गरेर नयाँ निर्वाचन मिति तोकिनु लोकतन्त्र र संविधान विपरीत भएको आरोप लगाउनु भयो । निवर्तमान सांसद डा.कोइरालाले लोकतन्त्र र संविधान रक्षाका लागि एक जुट हुन सबैलाई आग्रह समेत गर्नु भएको छ ।  
 काङ्ग्रेस नेत्री सुजाता कोइरालाले पनि मध्यरातमा संसद् विघटन हुनु संविधान र लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको छ । पूर्व उपप्रधानमन्त्री कोइरालाले आज विज्ञप्ति जारी गरी देश र जनता कोरोना महामारीको पीडाबाट छटपटाइरहेका अवस्थामा संसद् भङ्ग गरेर मध्यावधि चुनावको मिति तोक्नु दुर्भाग्यपूर्ण भएको बताउनु भएको हो । निवर्तमान सांसद कोइरालाले कोरोना महामारीका समयमा निर्वाचन सम्भव नभएको जनाउँदै यसले देशलाई अस्थिरता र द्वन्द्वमा लैजाने बताउनुभयो । नेपाली कङ्ंग्रेसको  भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पनि मध्यरातमा प्रतिनिधिसभा विघटन गरिनु लोकतन्त्र र संविधानमाथि हमला भएको बताएको छ ।
 नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी  सिङ्गो मुलुक कोरोना कहरले आक्रान्त भएको र हजारौँ नागरिकले ज्यान गुमाइरहेका बेलामा जनताको आवाज उठाउने थलो संसद् विघटनबाट देशलाई अन्योल र अराजकतातर्फ धकेल्ने विचार व्यक्त गरेका छन् ।  नेविसङ्घका महामन्त्री दीपक भट्टराईले पनि कोरोना कहरको चपेटामा परेका नेपाली जनताको रक्षामा लाग्नुपर्ने सरकार संविधानको मर्म र भावनाविपरीत अगाडि बढेको आरोप लगाएका छन् ।– रासस