काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उनले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनु भएको हो । 
    प्रधानमन्त्री ओलीले  राजनीतिक निकास अपरिहार्य भएकाले नै मुलुक  निर्वाचनतर्फ अघि बढेको स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा गए राति दुई चरणमा  प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोक्नु भएको छ । राष्ट्रपति भण्डारीले निर्वाचनको मिति तोकेपछि प्रधानमन्त्रीले  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत अन्य आयुक्तसंँग छलफल गर्नु भएको हो ।  –रासस