काठमाडौं –नेपाल पत्रकार महासङ्घ रेडियो नेपाल प्रतिष्ठान शाखाका सदस्य कृष्णप्रसाद ओझाको कोरोना सङ्क्रमणका कारण ५४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको कलङ्कीस्थित नेशनल अस्पतालमा उपचाररत ओझाको जेठ ७ गते शुक्रबार उपचारकै क्रममा निधन भएको हो । खोटाङको वडाका दियाले–७ निवासी ओझा २०४९ सालदेखि रेडियो नेपालमा कार्यरत थिए । उनको निधनले एक कुशल र जुझारु सदस्य गुमाएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घले स्वर्गीय ओझाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । कोरोनाकै कारण हालसम्म १६ जना पत्रकारको निधन भएको छ भने ८ सय ५० भन्दा बढी पत्रकार सङ्क्रमित भएका छन् ।