काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमाले बागमती प्रदेश संसदीय बोर्डको बैठकले माधव नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालन गरेको लगायतका आरोप लगाएर प्रदेशसभा सदस्यलाई संसदीय दलको विधानको दफा २५, उपदफा ३ देहाय (क, ख, ग, घ र ङ) अनुसार अनुशासन उल्लङ्घन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभएको छ ।
बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते भएको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिएको भन्दै बैठकले नेपाल पक्षका प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनका अनुसार बोर्ड बैठकले प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । स्पष्टीकरणमा पर्नेमा अष्टलक्ष्मी शाक्य, अरुण नेपाल, राजेन्द्र पाण्डेसहित रचना खड्का , कुसुम कार्की, मुनु सिग्देल, बसुन्धारा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्त मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मिना ज्ञवाली रहेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको बोर्डको बैठकले पार्टीको निर्णय विपरित नेकपा एमालेको उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको र पार्टीको निर्णय विपरित काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकमा उहाँहरुलाई आइतबार साँझ ५ बजे भित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । निर्धारित समयमा पनि उचित स्पष्टीकरण पेश नगरे पार्टीले आवश्यक कारवाही प्रकृया अगाडि बढाउने प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिनु भएको छ ।