काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले नेपाली जनताको आस्थाको केन्द्र रहेको संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको गम्भीर आरोप लगाउनु भएको छ ।  आज एक विज्ञप्ति जारी गर्दै काङ्ग्रेस सभापति देउवाले नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गर्ने काम भएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना गर्नु भएको छ । ‘यो सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको वेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको छ’, देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन् ।’ 
    प्रधानमन्त्रीले आफूले विश्वासको मत लिन नसक्ने भनी सिफारिस गरेपश्चात राष्ट्रपतिले जम्मा २१ घण्टाको छोटो समय दिई नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गरेपनि त्यसमा जालझेल भएको देउवाको आरोप छ । ‘राष्ट्रपतिले गरेको आह्वानको आधारमा मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमत सहित १४९ जना माननीय सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गरेँ । नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नु भयो’, देउवाले विज्ञप्तिमा भन्नु भएको छ, ‘बरु एक पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन् ।’
    नेपालको संविधानको अक्षर र भावना अनुसार ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उहाँलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि भएको देउवाले जिकिर गर्नु भएको छ । देउवाले भन्नु भएको छ–, ‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नु पर्नेमा प्रतिनिधि सभाका सदस्यलाई नियुक्त गर्नु पर्ने र दावी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन् ।
    यी काम राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपूर्ण ढङ्गले मिलोमतोमा षडयन्त्रपूर्वक भएका छन् भन्ने तथ्य प्रधानमन्त्री नियुक्त भएको १ घण्टामा सबै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गरेको घटनाबाट प्रमाणित भएको छ । राष्ट्रपति र प्रधानमन्त्री षडयन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्धत रहेका छन् भन्ने नेपाली कांग्रेस ठहर गर्दछ ।’देउवाले कांग्रेसले यी सबै कार्यको घोर भर्त्सना र निन्दा गर्ने भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट भई कार्य गर्न आह्वान गर्नु भएको छ ।