काठमाडौं – प्रतिनिधिसभा विघटनको विरोधमा नागरिकहरु सडकमा उत्रिन थालेका छन् । कोरोना भाइरसको कारण निषेधाज्ञा जारी रहेकै बेला विभिन्न जिल्लामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन हुन थालेको छ । मन्त्रिपरिषद्को सिफारिसमा मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेपछि देशभर राजनीतिक माहोल तातेको छ । कोरोना महामारीको दोस्रो लहरले आक्रान्त भएको यस विषम परिस्थितिमा प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको संविधानविद्हरूले बताएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)का बाबुराम भट्टराई र उपेन्द्र यादव समूहका कार्याकर्ताले धरानका विभिन्न ठाउँमा पुत्ला दहन गरेका छन् । विभिन्न जिल्लामा राजनीतिक दलहरूले प्रधानमन्त्रीको कदमको विरोधमा आन्दोलन गर्ने अनुमान गर्दै सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको छ । नेपाली सेना र सशस्त्र प्रहरी बलसमेत हाई अलर्टमा रहेका छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिएको समयमा परेका दुवै दाबी खारेज गरेर ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनु भएको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेको यो दोस्रो पटक हो । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरे लगत्तै राष्ट्रपतिले त्यसलाई सदर गर्दै २६ कात्तिक र ३ मंसिरमा गरी दुई चरणमा निर्वाचनको घोषणा गर्नु भएको हो ।