काठमाडौं – संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिनै लागेको छ । बिहीबार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मको मात्रै समय दिनु भएको थियो । प्रधानमन्त्री केपी ओलीले पुनः प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गर्नु भएको छ । उहाँले आफ्नो पक्षमा १५३ सांसद रहेको दावी गर्नु भएको छ ।
दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीको हस्ताक्षर रहेको छ । राष्ट्रपतिले देउवा वा ओली कसलाई नियुक्त गर्ने भन्नेमा बहस हुन थालेको छ । संविधानको धारा ७६ (५) ले दलगत रुपमा नभएर व्यक्तिलाई मात्रै चिन्ने संविधानविदहरुले बताउँदै आएका छन् । अब राष्ट्रपतिबाट के निर्णय होला त ? विपक्षी दलको बहुमतको हस्ताक्षर ग्रहण होला या प्रधानमन्त्री ओलीको ?