काठमाडौं – विपक्षी गठबन्धनद्धारा प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १४९ जना सांसदको हस्ताक्षर सहितको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गरेको छ । एमाले नेता माधव कुमार नेपाल समेतका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी दर्ता गराउनु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूसँग एमालेका १२१ सहित १५३ सांसदको साथ रहेको बताउँदै प्रधानमन्त्रीमा पुनः दाबी गर्नु भएको छ । 
तर, प्रधानमन्त्री ओलीको पक्षमा रहेका भनिएका जसपाका नेताहरुले भने राष्ट्रपतिले आह्वान गरेको ढाँचामा एकमुष्ट हस्ताक्षर नगरी पार्टीको लेटरप्याडमा पत्रमात्र शीतल निवासमा दर्ता गरेको शीतलनिवास स्रोतले बतायो । प्रक्रियाको हिसाबले धारा ७६ (५) को सरकार गठनका देउवाको दाबी बलियो देखिएको कानूनका जानकारहरु बताउँछन् । राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञहरुसँग सल्लाह गरेपछि निर्णय लिने बताउनु भएको शितलनिवासले जानकारी दिएको छ ।