काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भएको एक साताभित्रै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका निम्ति आह्वान गर्नुभएको हो । हिजो साँझ देखि २१ घण्टाको समय दिएर संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका निम्ति दिइएको समय आज साँझ पाँच बजे सकिनेछ । यसैबीच विपक्षी गठबन्धनले १ सय ४९ जना सांसद्को हस्ताक्षर बोकेर सरकारको दाबी गर्न शीतलनिवास पुगेको छ ।
राष्ट्रपति कार्यालयमा पुगिसके पनि राष्ट्रपतिसँग भेट हुन बाँकी रहेको र प्रतिक्षा गरिरहेको एक नेताले जानकारी दिनुभएको छ । विपक्षी दल काङ्ग्रेस, माओवादी, जसपा र माधव नेपाल समूहका १४९ सांसदहरुको हस्ताक्षर सहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न नेताहरु शीतलनिवास पुग्नु भएको हो । संविधानको धारा ७६(५) अनुसारको सरकार गठनमा दलगत नभएर व्यक्तिगत मतका आधारमा सरकार बनाउन मिल्ने भएकाले माधव नेपाल पक्षका सांसदहरुले पनि वैकल्पिक सरकारका लागि हस्ताक्षर गर्नु भएको छ ।
यो अवधि नेपाली राजनीतिका निम्ति दीर्घकालीन अर्थ राख्ने र सकसपूर्ण छ । किनकि यो अवधिमा सरकार बनेन भने संसद् विघटन हुने निश्चित प्रायः छ । यसको मुख्य कारण भनेको प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले नलुकाएको नियत हो । यदि राष्ट्रपति र प्रधानमन्त्रीको मनसाय देश, संविधान, प्रणाली र नागरिकको जीवनरक्षा हुने थियो भने यस्तो जोखिमपूर्ण कदम चाल्ने नै थिएनन् ।