काठमाडौं – विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि सो संख्यामा हस्ताक्षर जुटाइएको गठबन्धन स्रोतले जनाएको छ । स्रोतका अनुसार काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै हस्ताक्षर सङ्कलन गरिएको हो । काङ्ग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसद्को समेत हस्ताक्षर जुटेपछि संसद सचिवालयमा हस्ताक्षर फाइल गर्ने काम भइरहेको छ ।
काङ्ग्रेस नेता रमेश लेखकले सरकारका लागि दाबी पेश गर्ने तयारी भइरहेको बताउनु भएको छ । सांसदहरुको हस्ताक्षर जुटाउने काममा एमाले नेतृ रामकुमारी झाँक्री, काङ्ग्रेस नेता पूर्णबहादुर खड्का, रमेश लेखक, पुष्पा भुषाल र माओवादी नेता देव गुरुङ र वर्षमान पुन तल्लिन रहनु भएको थियो ।