काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामलाई जोडेर राष्ट्रपतिको विरोध गर्नु अलोकतान्त्रिक भएको बताउनु भएको छ । राष्ट्रपतिमाथि महाअभियोग लाउने कार्य लोकतन्त्र र गणतन्त्रकै विरोध भएकोे ओलीको दाबी छ । उहाँले पत्रकार सम्मेलन गर्दै सरकारको कामलाई जोडेर राष्ट्रपतिको विरोध गर्नु अलोकतान्त्रिक भएको बताउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘कसैले राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्छ भन्या छ । संविधानले राष्ट्रपतिलाई के अधिकार दिएको छ ? ल्याउने भए प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउ, बहुमत ल्याउ । प्रधानमन्त्रीले जे सिफारिस गर्छ त्यही राष्ट्रपतिले गर्ने हो । राष्ट्रपतिमाथि किन आक्रोश ? यो गणतन्त्रविरोधी खेल हो । राष्ट्रपतिको अपमान लिने काम नगरौं ।’