काठमाडौं – काङ्ग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको विपक्षी दलहरुको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक दायरा नाघेर केपी ओलीलाई पदीय हैैसियतकै दुरुपयोग हुने गरी सहयोग गरेको ठहर गर्दै महाअभियोग लगाउने विषयमा तयारी गरेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपति भण्डारीविरुद्ध शुक्रबार नै महाअभियोग दर्ता गर्ने विषयमा प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति देउवा बाहेक अरु सबै नेताहरु एक मत भएका छन् ।
सभापति देउवाले बैठकमा प्रस्तावलाई अस्वीकार नगरेता पनि सोचविचार गर्नुपर्ने बताएपछि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । बैठकबाट बाहिरिने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै बैठकमा राजनीतिक विकल्पहरुबारे छलफल भएको र आफूहरु आजै एउटा टुङ्गोमा पुग्ने बताउनु भएको छ ।
संविधानको धारा १०१ अनुसार राष्ट्रपतिविरुद्ध प्रतिनिधिसभाका एक चौथाइ सदस्यले महाअभियोग दर्ता गर्नसक्ने प्रावधान् छ । उक्त धारामा अरु संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोग दर्ता भएपछि पद निलम्बन हुने व्यवस्था भए पनि राष्ट्रपति र उपराष्ट्रपतिको हकमा भने मौन छ । राष्ट्रपति भण्डारीले  बिहीबार प्रधानमन्त्री ओलीले विश्वासको मत नै नलिइ धारा ७६ (५) अनुसारको सरकार गठनका लागि आह्वान गरेपछि दलहरु आक्रोशित भएका हुन् । 
देउवा निवासबाट बाहिरिने क्रममा माओवादी अध्यक्ष दाहालले, ‘विकल्पहरु छन्, धेरै विकल्पहरु छन्,एकछिनपछि हामी टुङ्गोमा पुग्छौ भन्नुभयो ।; काङ्ग्रेसका नेताहरु बुढानिलकण्ठमै छलफल गरिरहेका छन् भने नेपाल समूह संसदको सार्वजनिक लेखा समितिको हलमा आन्तरिक कुराकानी भैरहेको छ ।